मितिः २०८१/०६/८ गते
पृष्ठभूमीः
मैले अघिल्लो लेखमा भनेको थिएं– “अधिकांश नेपालीहरुको महत्वपुर्ण वा सबै भन्दा ठुलो चाड हो – दशैं । यो हिन्दु नेपालीहरुको महान चाड भन्दा पनि हुन्छ । यद्धपी, हालका केहि बर्ष देखि हिन्दु की, सनातन की, आर्य भन्ने सवालहरु पनि उठ्दै आएका छन् । बिगत केहि बर्ष देखि दशैं मान्ने र नमान्ने भन्दा पनि दशैंको समर्थक र विरोधमा अतिबादका रुपको दुई गुटमा बिभाजन भएको पाइन्छ । गर्मी र बर्षा पश्चात उदाउँदो हिउँदसंगै आएको दशैं अवसरमा काटमार, बली, पुजा आदिका नाममा जो कसैले मासुको उपभोग अधिक गर्छन् । तथापी, यसका पनि बिरोध गर्नेहरुको कमी छैन, यद्धपी सो कथित काटमार बिरोधि वा कथित अहिंसाबादीहरु स्वयं पनि मासु उपभोग गर्छन् ।”
दशैं बिशेषतः नेपाल र भारतका हिन्दुहरुले मनाएता पनि मनाउने तरिका भिन्न छ । भारतमा दशैंमा रावणको पुत्ला जलाएर मनाउँछन् भने नेपाल भित्र पनि फरक–फरक तरिकाले मनाउँछन् । नेपालका क्षेत्री बाहुनहरुले दुर्गा पुजा गरेर मासुभात खाएर मनाउँछन् भने नेवारहरुले दशैंमा भात खान हुन्न, र ३ दिन सम्म चिउराकाे भोज खाएर मनाउँछन् । तराईमा पनि पुजापाठ र मासुभात खाई फरक तरिकाले मनाउँछन् । दशैं मनाउन मानिसहरु देश बिदेशबाट दशैं मनाउने बहानामा घर फर्कन्छन्, परिवारहरु कम्तिमा भेटघाट हुन्छ । तसर्थ, दशैं जसरी मनाए पनि हालसम्म परिवारिक र सामाजिक एकता जोड्ने नेपालीहरुको महत्वपुर्ण चाड पनि हो ।
जमरा थाप्ने, ठुलाबडाबाट टिका लगाई आर्शिबाद लिने भन्ने कुरा भने सबैमा साझा पाईन्छ । यद्धपी, टिकाको रंग भने फरक – फरक छ । जस्तै, क्षेत्री बाहुन लगायत नेवार र प्रायः समुदायहरुले अहिले अक्षतामा मुछिएको रातो टिका लगाउँछन्, लगभग सय बर्ष पहिले रातो रंग सहजरुपमा उपलब्ध नहुने भएकोले काठमाण्डौं उपत्यका बाहेक सबै ठाउँमा अक्षताको सेतो टिका लगाउँथे । अहिले पनि काठमाण्डौं उपत्यका वरपरका तामाङ्गहरुले अक्षताको सेतो टिका लगाउँछन्, दैलेखमा क्षेत्री बाहुनले पनि बेसार मिसाएको अक्षताको पहेँलो टिका लगाउँछन् ।
दशैं टिकाको रंग जस्तै टिका लगाउने दिन अवधि पनि फरक – फरक पाईन्छ । काठमाण्डौं उपत्यका लगाएतका ठाउँमा दशैं पुर्णिमाको दिनसम्म टिका थाप्ने चलन छ भने प्युठान लगाएत अन्य पश्चिम जिल्लाहरुमा दशमीको एक दिनमा मात्र टिका थाप्ने चलन छ । तसर्थ, दशैं बिबिधता भित्र एकता भएको नेपालीहरुको महत्वपुर्ण चाड पनि हो ।
यहाँ दशैंको बिषयमा बिस्तृत चर्चा गरिन मैले । केहि दिन अघि मात्र मैले “आहुति” को अन्तवार्ता हेरेको थिएं । उहाँ भन्दै हुनुहुन्थ्यो –“यसपालि त दशैं आउन थालि सक्यो, दशैं बिरोधको केहि भएको नै छैन ...।” लगत्तै, दशैं बिरोधका यस्ता दुई चार वटा दशैं बिरोधि भिडियोहरु सामाजिक संजालमा छाउन थाल्यो, तर्क बितर्कहरु हुन थालेको छ । अहो, दशैं मान्नेहरुको भन्दा, दशैं बिरोध गर्नेहरुको चटारो बढि भएछ भन्ने लाग्यो । तसर्थ, दशैं बिरोधिहरुको केहि मुख्य आधारहरुको बिषयमा म यहाँ चर्चा गर्न चाहन्छु । दशैं बिरोधिहरुको तर्क अनुसार यसको बिरोध गर्नु पर्ने मुख्य निम्न कारणहरु छन् र यसैको वरिपरि रहेर म यहाँ चर्चा गर्न चाहन्छु ।
१) किराँतीहरुः दशैं हाम्रो चाड होइन किनकी दशैं नमानेको कारण २ जना आठपरिया राईलाई मारेको थियो ।
२) दलितहरुः दशैंमा बाहुनले टिका लगाई दिदैंनन् ।
३) भौतिकबादीहरुः दुर्गा पुजा किन ?
४) पशु अधिकारबादिः पशुबली दिन पाइन्न ।
दशैं र २ जना आठपरिया राईको हत्या
अहिले अतिबादी मंगोलहरु दशैं तथा हिन्दुहरुको बिरोधमा सकृय भएको पाईन्छ, बिगत केहि बर्षहरु देखि । कहिले आफुलाई हामी मंगोल देशका आदिबासी भन्छन् त कहिले किराँती । मंगोल भनेको इमनुल केन्तले सन् १७७४ मा कोठा भित्र बसेर मानिसको चित्र हेरेर नामाकरण गरिएको जात वा समुह हुन् https://www.facebook.com/reel/7350186755086530 । तसर्थ, म यहाँ, मंगोल भन्दा किराँती भन्न रुचाएँ ।
दशैंमा २ जना आठपरिया राई अर्थात किराँती समुदायको मानिसलाई मारेको चर्चा बेलामौकामा उठ्ने गरेको पाईन्छ । दशैं बिरोधिहरुले हालका किराँती समुदायमा कस्तो प्रशिक्षण दिईराखेको छ भने – ती दुइ जनालाई त दशैं नमानेको कारणले नै हत्या गरेका हुन् । ती दुई जना ब्यक्ति हुन –रिद्धमा र नाम्लिहान, मलाई थाहा भएसम्म । त्यसकारण, तत्–तत् समुदायले दशैं नमान्ने मात्र हैन कि खुलेरै दशैंको बिरोध गर्नुपर्छ । फलतः कसैले कालो टिका लगाएर राँके जुलुस निकालेर बिरोध गर्छन्, कोहि कथित बिद्धानहरु सार्वजनिक कार्यक्रममा बोलेर बिरोध गर्छन् भने कोहि सामाजिक संजालमा । हुन सक्छ, ती दुई जना दशैंमा नै मारेको होला, तर कारण भने अर्ध सत्य हो । हिन्दु बिरोधि तथा सामाजिक खलल पुर्याई लाभ लिनेहरुको खेल हो ।
शाह कालमा के दशै नमाने कै कारणले २ जनाको हत्या गरेको थियो त ? शाहकालका अर्थात शाही राजाको पालामा भनिए पनि मिति अहिल्यसम्म प्रष्ट गर्न सकेको छैन । जबकी राजाको शासन गएको पनि लगभग डेड दशक भैसक्यो ।
हाल तथा तत्कालिन समयमा पनि काठमाण्डौं लगाएत नेपालका अन्य ठाउँमा दुर्गा पुजा गरेर, बली दिएर तथा रातो टिका लगाएर दशै नमान्ने थुप्रै ठाउँहरु भेटिन्छ । अब प्रश्न उठ्छ– दशैं नमानेको कारणले नै २ जनाको हत्या हुन्थ्यो भने भने नाकको टुप्पो मै रहेको मुसलमानहरुलाई किन मारेन ? काठमाण्डौं उपत्यका भित्रको खोकनामा कहिल्यै दशैं मनाएनन् र हाल पनि दशैं मनाउँदैन । तर, उनीहरु कसैको हत्या किन गरेनन् ? काठमाण्डौंको वरपरका सिन्धुपाल्चोक, नुवाकोट जिल्लाहरुका शेर्पाहरुले पनि दशैं मनाउँदैन, काटमार र रातो टिका लगाउँदैन । तर, उनीहरु कसैलाई दशैं नमानेकै कारणले किन हत्या गरेनन् ? तसर्थ, ती २ जना राईहरुको हत्या भएको भएतापनि दशैं नै नमाने कारणले होईन भन्ने कुरा प्रष्ट हुन्छ ।
द्धन्दकालमा माओबादीहरुले भागवत कथा बाचक नारायण पोखरेललाई मारे । क्रियापुत्री बसेका कयौंलाई मारे । भागवत हिन्दुहरुको महान ग्रन्थ मध्ये एक हो । तसर्थ, नारायण पोखरेल हिन्दुहरुका एक प्रकारका गुरु थिए भने “क्रियापुत्री” हिन्दुहरुको मृत्यु संस्कार मध्ये एक महत्वपुण बिधि हो । अब, माओबादीहरुले हिन्दु माथि आक्रमण गर्यो, माओबादी हिन्दु बिरोधी हो भन्ने त ?
उल्लेखित घटना पनि पादरीहरुलाई देश निकाला गरेको रिस फेर्न किर्तीपुर युद्धमा पृथ्बी नारायणका सेनाले किर्तीपुरबासीका १७ धार्नी नाक काटेको बिदेशीले लेखेको वा भनेको जस्तै हो । जवकी, नेपाली इतिहाँसकारका अनुसार तत्कालिन समयमा सबै किर्तीपुरबासीको नाक काट्दा पनि १७ धार्नी पुग्दैन । किनकी, किर्तीपुरबासीको जनसंख्या नै कम् थियो । अतयबः २ जना आठपरिया राई मारेको यो घटना पनि रिस साँध्न गरिएको अफबाह वा गलत प्रचार हुन सक्छ ।
बाहुनद्वारा दशैंमा टिका
दलित अधिकारबादीहरु के भन्छन् भने दशैंको दुर्गा पुजा गर्दा बाहुनले दलितहरुलाई मन्दिरमा पस्न दिंदैनन् र मन्दिरको पनि टिका लगाई दिदैनन् । तसर्थ, कालो टिका लगाएर दशैंको बिरोध गर्नुपर्छ भन्ने तर्क छ, र कतिपय ठाउँमा यसरी नै बिरोध गरिएको पनि पाउँछन । यसमा केहि हदसम्म यथार्त भने छ, तर दशैं मान्दिन वा फरक तरिकाले मनाउँछु भन्नु र दशैंको बिरोध गर्छु भन्नु फरक हो ।
हामी नेवारहरुको दशैंमा दुर्गा पुजा त गर्छौ, तर बाहुन वा ब्राम्हणसंग कतै सम्बन्ध हुँदैन । सामुहिक रुपमा बली त हुन्छ, पारिवारिक रुपमा पुजाआजा हुन्छ, तर कुनै ब्राम्हण सहभागी गर्दैनौं । यस अर्थमा के दशैं पुजामा ब्राम्हण नै आवश्यक छ र ? भन्ने प्रश्न हुन सक्छ । अर्थात, ब्राम्हणको सहभागि वा उनका टिका वा प्रसाद बिना पनि दशैं मनाउन सकिंदो रहेछ । तसर्थ, ब्राम्हणसंग जोडेर दशैंको बिरोध गर्नु एक बहाना मात्र हुन सक्छ – बिरोधको लागि बिरोध, वा प्रायोजित बिरोध ।
नेवारहरुले दशैंलाई “मोहनी” भन्छन् । यो एक प्रकारको कालो टिका पनि हो । पर्ब अनुसार फरक–फरक देवताको पुजा गरी तल पट्टी दियोमा तेल सहित बत्ती बालिन्छ, र त्यसमाथि सलि “माटोको कचौरा जस्तो” मा तेल लगाई ढाकिन्छ । पछि, उक्त माथिको सलिमा कालो बस्छ, जसलाई मोहनी भनिन्छ । दशैं लगाएत कुल पुजा र साँस्कृतिक पुजाहरुमा मुख्य रुपमा यस मोहनी नै प्रसादको रुपमा लगाइन्छ । (यदि पुजा बिधि नमिलेममा, सलीमा मोहनी राम्ररी लाग्दैन । यस्तो भएमा अशुभ पनि मानिन्छ । र, फेरी क्षमा पुजा गरी बिधि दोहराईन्छ ।) अब, के कालो टिका लगाएर बिरोध नै गर्नु पर्छ र ? त्यस्तै, अन्य जातीहरुले पनि दशैंमा ब्राम्हण प्रयोग गर्दैनन् । तसर्थ, कसैले ब्राम्हणसंग जोडेर दशैंको बिरोध गर्न आवश्यक छ र ?
पछिल्लो समयमा डा. मित्र परियारका अनुसार उहाँहरु दलितको अधिकारको लागि लड्ने हो, न की हिन्दुहरुको बिरोध । कुरा एकदम ठिक हो । मेरो बिचारमा, अहिले आएर केहि ब्राम्हणहरु पनि जातीय छुवाछुत बिरुद्ध सामुहिक रुपमा नै लागि परेका छन् । त्यस्ता समुह वा संस्थाहरुसंग सहकार्य गर्नु भई अगाडि बढेमा प्रतिफल छिट्टो नै पाउन सकिएला की ? किनकी जसले सेवा दिने हो (अर्को अर्थमा जसले बिभेद गर्ने हो), उनीहरु नै पहिला सचेत हुनु पर्छ, तब मात्र सेवा लिनेले (जसलाई बिभेद गरिएको छ, निजलाई यसबाट मुक्त हुनु आवश्यक छ) सेवा सहज लिन सक्छन् । रोवर्ट च्याम्बरको शब्द सापटि लिँदै– पुटिङ्ग द लास्ट फस्ट वा पुटिङ्ग द फस्ट लास्ट नियम यहाँ लागु गर्न सकिन्छ । यहाँ शब्द चयन नमिलेको भए क्षमा चाहन्छु ।
भौतिकबाद अनि दुर्गा पुजा
मेरो बिचारमा धर्म संस्कार र बिज्ञान तथा भौतिकबाद फरक कुरा हो । पहिलो कुरा, बिज्ञान दुई चार सय बर्ष अगाडि शुरुवात भयो भने धर्म हजारौं बर्ष अगाडि । तसर्थ, दोस्रो कुरा, जहाँसम्म धर्म पुगेको छ, त्यसको एक छेउपनि बिज्ञान पुग्न सकेको छैन । हो, बिज्ञानले जिवनलाई सहज पुर्याएको होला, तर धर्मले खुशि दिएको छ, बिश्वासको दियो जलाएको छ । यो सबै धर्ममा लागु हुन्छ
।
हिन्दु मात्र हैन, बौद्ध, किराँती र बोन धर्मका धामी झाँक्रीहरुले झारफुक र पुजा गरेर कयौं रोग र समस्याहरु निराकरण गरेका उदारणहरु छन् । यो बर्तमान बिज्ञान भन्दा फरक पक्ष हो, र बिज्ञान यहाँसम्म पुग्न अझ सयौं लाग्ला । तर, यसो भनिरहँदा सबै रोगहरु झारफुक र पुजा गरेर निको हुन्छ भन्ने तर्क पनि हैन, जसरी चिकित्सक बिज्ञानले पनि सबै रोग निको पार्न सक्छ भन्ने पनि छैन । परिणाम आएको तर कारण थाहा नभएको कुरा भन्दैमा बिज्ञान सम्बत छैन भनेर बिरोध गर्नुको औचित्य छ र ?
मसंग चिकित्सक बिज्ञानले उपचार गर्न नसकेका तर झारफुकबाट पनि पुर्ण रुपमा उपचार भएका हजारौं उदारण छन् । त्यसमध्ये तपाईका जिज्ञासा मार्न एक उदारण दिन चाहन्छु । हामी मदुकर नेवारहरुले अष्टमीको बिहान खाना खाएर लिपपोत तथा पकाएको भाँडा माझेपछि सो दिन बेलुका, नबमी र दशमी अर्थात टिका दिनसम्म चामलको भात पकाउन वा खान हुँदैन । एकताका, मेरो आफ्नै बुबाले दशमी दिनमा सबै बिधि सकेर बेलुका चामलको भात पकाई खानु भएछ । त्यस रात बुबालाई साह्रै गाह्रो भएछ, अस्पतालले पनि रोग पहिचान र निको पार्न सक्नु भएनछ । अस्पतालले पनि उपचार गर्न नसके पछि झारफुक जान्ने मानिसलाई देखाउँदा दशमीको दिनमा भात खाएको हुनाले कुल भगवान रिसाएर दुःख दिएको भन्नु भएछ । जवकी, कसैले पनि ती झारफुक गर्ने मानिसलाई भात खाएको कुरा भनेको थिएन । पछि, क्षमा पुजा गरेपछि, तुरुन्त ठिक हुनु भएछ । अब तपाँईहरु नै भन्नुस, चिकित्सा बिज्ञानले उपचार गर्न सकेन भन्दैमा झारफुक अन्धबिश्वास वा अबैज्ञानिक भयो त?
हिन्दुहरुको लागि दशैंसंग जोडेर नव दुर्गाको आफ्नै महत्व र ब्याख्या छन् –अध्यात्म हिसाबमा, शक्तिपिठको हिसाबमा, साँस्कृतिक हिसाबमा आदि । तर, कसैलाई मन परेन भन्दैमा अपाच्य हिसाबले बिरोध गर्न कति सुहाउँछ, जबकी उनीहरुलाई केहि अप्ठेरो परेन ? ल ठिकै छ भौतिकबादीहरुले अध्यात्मबाद मन्दैन । यदि निरपेक्ष रुपमा मात्र किन हिन्दु देबी देवताको पुजा अर्चनाको मात्र बिरोध तथा आलोचना ? सापेक्ष रुपमा किन इद, ल्होसार र क्रिमसको बिरोध वा आलोचना गर्न सक्दैन ? के यि धर्म भौतिकबाद भन्दा फरक हैन र ? यसर्थ, यसबाट प्रश्न उठ्छ – हिन्दुधर्म र संस्कारको मात्र बिरोध गर्नु उनीहरुको पेशा अर्थात आम्दामी श्रोत नै हो त ?
अनि भौतिकबादीहरुले घरको मुल ढोकासंग जोडेर नब दुर्गा पुजा र मुल ढोकामा पुजा गर्दा लाग्ने रातोसंग पनि असन्तुष्ट ब्यक्त गर्छन् । किराँती, बोन जस्तै हिन्दुहरु पनि बहुआयामिक पुजक हुन् । मेरो एक जना काका भन्नु हुन्छ – घर भित्र छिर्दा निहुरिएर छिर्नु पर्छ भन्ने छ, र नेवारहरुको पुरानो तथा परम्परगत घरमा ढोका होचो हुनुको कारण पनि यहि हो । नेवारहरुले त आफ्नो घरको मुल ढोकालाई देवता नै मान्छन् । तसर्थ, घर बाहिरका कुनै पनि पुजा थाली घर भित्र भित्राउँदा ढोकामा पुजा नगरी पुजा थाली भित्राउँदैनन् । राँगा, बाेका वा कसैले बगुर जस्ता ठुला पशु घर भित्र बली दिने कुरा त भएन । त्यसैगरी, मुल ढोकामा रातो लगाउनु दशैं मानेको वा नमानेको हो भनेर तत्कालिन शासकहरुले परिक्षण विधि हो रे । हुनसक्ला । तर, फेरी पनि भन्छु, त्यो परिक्षण हालका किराँतीहरुलाई मात्र लागु हुन्थ्यो की माथि उल्लेख गरे अनुसार, मुसलमान, खोकनाबासी, शेर्पा आदि जसले काटमार र रातो अबिर लगाएर दशैं न बिगतमा माने न हाल ? तसर्थ, यो पनि भ्रमपुर्ण ब्याख्या हो भन्ने लाग्छ ।
पशु अधिकारबादी र मासुजन्य उपभोग
माथि उल्लेख बाहेक, पशु बली वा काटमार वा मासु उपभोगको बिषय पनि दशैं बिराधिहरुको अर्को एजेन्डा हो । कसैले मासु खानु वा नखानु उसको ब्यक्तिक स्वतन्त्रता हो । मासु उपभोग आफैमा साँस्कृतिक, शारिरीक, आर्थिक र अन्य महत्व पनि छ । प्रायः सबै धर्मले हिंसा गर्नु पाप हो भनिएता पनि अधिकांश मानिसहरुले आफ्ने स्वाद र संस्कृति अनुसार मासु त उपभोग गरेकै छन् । मेरो बिचारमा संसार चक्र चलाउन पनि यसको आवश्यक छ । तर, के, कति र कसरी भन्ने पाटो अर्को होला ।
दशैंमा बलि गर्न हुँदैन भन्नेहरुले मासु खाँदै खाँदैनन् त ? के उनीहरु पुर्ण साकाहारी नै हुन त ? के हिन्दु नेपालीहरुले मात्र मासु खान्छन् त ?... जब – जब हिन्दुहरुको चाडपर्ब आउँछ, नेपालका प्रतिक्रियाबादीहरुले कुनै न कुनै रुपमा बिरोध तथा आलोचना गरेकै पाइन्छ । कहिले बाराको गढिमाई मेलामा बलिको बिरोध त कहिले दशैंमा गरिने बलिको बिरोध । गत केहि बर्ष अगाडि बाराको गढिमाईमा बलिको बिरोध गर्दै र्याली गर्नेहरुको समुह होटलमा गएर मासुभात खाएको भिडियो त सार्बजनिक भएकै हो । अब यसलाई के भन्ने ?
बुद्धिष्टहरु पञ्चशिल अवधारणा अन्तर्गत काटमार गर्न हुँदैन भन्छन्, तर अधिकांशले अरुले काटमार गरेको मासु भने खान्छन् । पशु काटमार गर्ने र मासु खानेहरु पापी तथा पशु अधिकार हनन् गर्नेवाला भयो भने अरुले काटमार गरेको मासु खानेहरु पापी त पशुअधिकार हनन्का साझेदार भएन त ? बरु, हिन्दु भित्रका ओम शान्ति, बैष्णबी, कृष्णप्रणामी पन्थहरुले मासु खाने कुरा त परै जाओस्, मासु पकाएको भाँडामा अन्य साकाहारी खाना पकाए पनि खाँदैनन् । तसर्थ, अन्य कथित भन्दा त हिन्दु भित्रका ओम शान्ति, बैष्णबी, कृष्णप्रणामी पन्थहरु धेरै पशु अधिकारबादी, अहिँसाबादी । तर, कहिल्यै बिरोधमा उत्रँदैनन्– सके मासु नखाऔं भनेर सम्झाउँछन्, नसके मासु नखाऔं, अहिंसा गरौं भन्दै बिरोध र आलोचना गर्दै हिँड्दैनन् ।
केहि बर्ष अगाडि दशैंको बेला पशु बलि दिन्छन् भनेर केहि समुहहरुले भेडा, च्याङ्ग्रा, खसी, बोका आदि किनेर हेलम्बुको जंगलमा छाडेको भन्ने समाचार पढ्न पाईयो र सामाजिक संजालमा भिडियो पनि हेर्न पाईयो । म ४–५ बर्ष हेलम्बु बस्दा कोहि कसैले त्यसबारेमा कुरा नै गरेनन्, जंगलमा पनि कहिँ कतै भेटिएन ती छोडेका पशुहरु, जबकी म हेलम्बुको प्रत्येक बस्तीहरुमा पुगेको छु त्यस अवधिमा । हो, त्यहाँका माथिल्लो भेगका शेर्पाहरु (अहिले उहाँहरु आफुलाई ह्योल्मो भन्न रुचाउनु हुन्छ) आफुले काटमार गर्दैनन्, तर अरुले काटेको मासु भने खान्छन् ।
यसरी काटमारको बिरोध र पशु अधिकारको वकालत गर्दै गर्दा मुसलमानहरुको चाड इद, रजमानमा काटमार गरेका, अरु धर्मालम्बीहरुले मासु खाएका, मासु सहितको भोजभतेर गर्दा कतै पशु अधिकारको सवाल उठ्दैन त । जब –जब हिन्दुहरुको चाड आउँछ, तब – तब मात्र पशु अधिकारको याद आउँछ की क्या हो कथित पशु अधिकारबादीहरुलाई ?
अन्ततः, एउटा भनाई छ – यदि कुनै देशलाई कमजोर पार्नुछ भने कि त शिक्षामा कि त धर्ममा आक्रमण गर्नु पर्छ । शिक्षामा सन् २०५४ मा “नेपाल राष्ट्रिय शिक्षा योजना आयोग” देखि नै भएको हो, जसमा बिदेशिलाई बिज्ञको रुपमा नियुक्त गरियो । धर्ममा भने बिगत केहि दशक, खासगरी प्रजातन्त्र आएपछि आक्रमण भएको थियो भने बि. स. २०७२ को नयाँ संबिधान आएपछि त ब्यापक आक्रमण नै शुरु भएको छ । त्यसैले त शास्त्रमा भनिएको रहेछ – धर्म रक्षति रक्षिता, अर्थात जसले धर्मको रक्षा गर्छ, उसलाई धर्मले रक्षा गर्छ ।
पहिले – पहिले ल्होसार होस वा साकेला वा दशैं एकअर्का सद्भावका साथ मनाउँथ्यौं, मर्दा पर्दा हैंसेमा होस्ते हुन्थ्यो – जात धर्म बिचमा आउँदैनथ्यो । तराईमा मान्ने छठ होस् या पहाडमा मनाउने दशैं, सद्भाबका साथ साटासाट भैरहेको छ । इदमा हिन्दुहरु सहभागी हुन्छन् भने दशैंमा मुसलमान । तर, अहिले ... । तसर्थ, यदि कसैलाई हानी नोक्सानी पुग्दैन भने, कसैकाे धार्मिक आँच आउँदैन भनै, कुनै चाडपर्ब मनाउँदा कसैले बिरोध वा आलोचना गर्नुको तुक छैन । यस्ता कथित सामाजिक अभियन्ताहरु भ्रमपुर्ण सुचाना प्रशारण गर्नु उनीहरु प्रायोजित हो भन्ने कुरा बुझ्न सजिलै सकिन्छ ।
अहिले हामी नेपाली भन्दा पनि भन्दा पनि जात र धर्ममा टुक्रिएका छौं । प्रायोजकहरु खुशि भएका छन् होला । तर, सोच्दैछु – मेरो घरमा आगो लगाउँदा, तिमी खुशि हुँदै गर्दा, एक दिन त्यहि आगोले तिम्रो घर पनि जलाउन बेर छैन । किनकी, आगोको धर्म नै जलाउनु हो । तसर्थ, दशैं मान्नु नमान्नु तपाईको ईच्छा, तर बिरोध गर्दै हिँड्दा तिमी र तिम्रा समुदायले के पाए ?