लैङ्गिकतामा बुबाको भावनाको अनुमोदन (Ratification of Father’s Emotion in Gender)
बिऔपनिबेशिक दृष्टिकोणबाट (A Decolonial Reflection)
पृष्ठभूमि:
कुशे औंसी, जसलाई हामी परम्परागत रूपमा बुबाको मुख हेर्ने दिन भनी मनाउँछौं, आजकाल धेरैले 'फादर्स डे' भनेर चिन्ने गरेका छन्। दुई वर्षअघि, सोही अवसरमा युकेजिमा अध्यनरत मेरी छोरीले मलाई कार्ड दिइन्—'Happy Father’s Day' लेखिएको त्यो कार्डमा अंग्रेजीमा एउटा सन्देश थियो: "For the world, you are my father. But for me, you are the world." मैले उनलाई मुस्कुराउँदै धन्यवाद दिएँ, कार्ड राखें, तर खासै गहिरो अनुभूति भएन त्यसबेला
।
तर जब मैले काठमाडौं विश्वविद्यालय अन्तर्गत आदिवासी जनजाति शिक्षा विकासमा स्नातकोत्तर गर्दै बिऔपनिवेशिक अध्ययन सुरु गरेँ, तब जेन्डर अर्थात् लैङ्गिकता सम्बन्धी मैले पढेको, सिकेको र सिकाएको कुराले मलाई झस्कायो। विशेषतः मैले आफ्ना बुबालाई देखेको, समाजमा पुरुषहरूको अनुभव गरेको र आफैंले भोगेको कुराहरू एकाएक मनमा आउन थाले।
हामीले लैङ्गिकतालाई सामाजिक व्यवहारको रूप मान्ने गर्छौं भने लिंगलाई प्राकृतिक, तर त्यो परिभाषा भित्र बुबा जस्ता पुरुष पात्रहरू किन अटाउँदैनन्? के पुरुषहरू, विशेषतः बुबाहरू, समाजका पूर्ण अंग होइनन् त? यही प्रश्नबाट प्रेरित भएर, यस लेखमा मैले समग्र पुरुषभन्दा पनि बुबाको भूमिकालाई केन्द्रमा राखेर लैङ्गिकताको पुनरावलोकन गर्ने प्रयास गरेको छु।
व्यक्तिगत अनुभव:
म अझै पनि सम्झन्छु, मेरा बुबा देशको राजधानी काठमाडौंको न्युरोडस्थित एक निजी कार्यालयमा काम गर्नुहुन्थ्यो। बिहानको समय भैंसी भकारोमा बित्थ्यो, त्यसैले अफिस जानुअघि नुहाउने फुर्सद पनि हुन्थेन। भकारोको गन्धसँगै अफिस जानुपर्ने बाध्यता थियो। म बेला–बेलामा भन्न्थेँ, “बुबा, कस्तो गनाएको?” उहाँ मुस्कुराउँदै भन्नुहुन्थ्यो, “खै, मलाई त केही गनाएको छैन।”
धेरै वर्षपछि, अफिस छोडिसकेपछि मात्र बुबाले भने– अफिस जान गाडीमा चढ्दा वरिपरिका मानिसहरूले गन्धबारे कुरा गर्थे, 'भकारोको जस्तो गन्ध आएको छ' भनेर। उहाँलाई थाहा हुन्थ्यो त्यो गन्ध उहाँकै शरीरबाट आएको हो, तर केही नबोलिकन चुपचाप सहनुहुन्थ्यो।
बिहान ७ बजे खाना खाएर निस्कनुहुन्थ्यो, राति ८–९ बजे मात्र घर फर्किनुहुन्थ्यो। यो दिनचर्या मलाई सामान्य लाग्थ्यो, तर शनिबार नुहाउँदा उहाँको कट्टुमा जुम्रा देखिन्थ्यो। आमाले फुर्सदमा जुम्रा मारिदिनुहुन्थ्यो, अनि तातोपानीमा धोएर सुकाएको त्यही कट्टु फेरि लगाउनुहुन्थ्यो। कहिलेकाहीँ चिसोमै लगाएको पनि देखेको छु। म प्रश्न गर्थें, “न्युरोडमा काम गर्ने मान्छे भएर पनि एउटै कट्टु? अर्को किन किन्न सक्नुहुन्न?” उहाँको जवाफ हुन्थ्यो, “पसलमा मान्छे रहेछ, के गर्नु?”
तर, आमालाई हरेक वर्ष नयाँ धोती चोलो किनिन्थ्यो, हामी छोराछोरीलाई विद्यालय पोशाक। अब लाग्छ—बुबाले आफूलाई कहिले प्राथमिकतामा राख्नुभएन।
अब म सोध्न चाहन्छु– लैङ्गिकताको परिप्रेक्ष्यमा मेरा बुबा किन अदृश्य भए?
एकचोटि, सामाजिक भोजमा काकाको खुट्टामा पट्टी लागेको देखेँ। “के भयो?” भनेर सोध्दा, छोटो उत्तर आयो—“मोटरसाइकल दुर्घटना।” अनुहारमा भावनात्मक वेदना झल्किएको थियो। साँझको गफगाफमा उहाँले भन्नुभयो—“तीन ठाउँमा चोट लागेको छ, निकै दुखीरहेको छ । तर सामाजिक काम छ, आउनै पर्यो। घरमा भने जुत्ताले घाउ बनाएको भनेको छु। साँचो कुरा गरे घरमा उल्टै गाली खाइन्छ।”
अब म फेरि सोध्न चाहन्छु—लैङ्गिकताको बहसमा मेरा काकाको पीडाको उकुसमुकुस अनि परिवार भित्र सत्य बोल्न पनि नसक्ने बेदना किन अटाएन?
हाम्रै छिमेकी एक दाइ, निर्माण मजदुर हुनुहुन्छ। बिहान ५ बजे निस्कनुहुन्छ, साँझ ७–८ बजे फर्किनुहुन्छ। ढाडको छाला पनि पैतालाको जस्तो मृतप्राय छ। उहाँको एक मात्र सपना छ– छोरालाई इन्जिनियर पढाउने ।
तर प्रश्न उठ्छ– लैङ्गिकताको विमर्शमा ती मरेका छालाभित्रको सपना किन अटाएन?
जब बुबाले कमाउनुहुन्थ्यो र आमाले पकाउनुहुन्थ्यो, कहिल्यै भोकै सुत्नु परेन, खोलेफाँडो भए पनि खान पाईएको थियो। तर जब म कमाउन थालेँ, कैयौं रातहरू भोकै सुत्नुपर्यो, कैयौं पलहरू एक्लो अनुभव गर्नुपर्यो।
अनि फेरि सोध्न मन लाग्छ—लैङ्गिकताको संरचनाबाट म किन बाहिरिएँ?
यी प्रश्नहरू केवल मेरो व्यक्तिगत कथा होइनन्, ती हामी सबैका बुबाहरूका अनकथित अनुभूतिहरू हुन्, जसलाई समयले, समाजले र संरचनागत सोचले ओझेलमा पारेको छ।
नैतिक प्रश्नहरू: बुबाको भूमिका र लैङ्गिकताको विमर्श
हाम्रो पूर्वीय दर्शनले आमालाई धर्ती र बुबालाई आकाशको उपमा दिन्छ। तर जब वर्तमान लैङ्गिक विमर्शले धर्तीलाई परेको झरी र खडेरीको पीडा देख्न थाल्छ, तब प्रश्न उठ्छ—किन आकाशमा उठेका बादल, हुरी र गर्जनको वेदना सुन्ने प्रयास गरिँदैन?
पश्चिमी उपनिवेशवादी सोचले भावना र सौम्यता महिलासँग मात्र जोड्ने अभ्यास गर्यो । उपनिवेशवादी सत्ता र विचारले लिङ्गको द्वैध संरचना निर्माण गरी बुबालाई कठोरता, अनुशासन र नियन्त्रणको प्रतिनिधिका रूपमा मात्र चित्रित गर्यो। यसले बुबाको भावनात्मक आयामलाई नकार्दै उसलाई केवल संरक्षक र अधिकारको मूर्तिमा सीमित गर्यो। तर के बुबा पनि सहानुभूति, समर्पण र सम्बन्धको संवाहक होइनन्?
हाम्रो समाजमा बुबाको प्रेम शक्तिको रूपमा होइन, मौनताको रूपमा चिनिन्छ । बुबाको भावनात्मक पक्षलाई स्वीकार गर्नु केवल उपनिवेशवादी लैङ्गिक दृष्टिकोणको प्रतिवाद होइन; यो लिङ्गीय सन्तुलनको खोजी पनि हो। बुबाको संवेदनशीलतालाई स्थान दिनु, उनीहरूको मौन वेदनालाई मान्यता दिनु र तिनको भूमिकालाई व्यापक रूपमा हेर्नु आजको आवश्यकता हो।
बुबा त घरको मियो हुन्—परिवारलाई बाँध्ने, टेवा दिने, र दिशा देखाउने। बुबा हुँदा र नहुँदाको नेपाली परिबेशमा पारिवारिक एकता र सामाजिक सम्बन्धका बिषयमा कुन परिवार अनबिज्ञता होला र ? उदारणको लागि जुन घरमा बृद्ध नै भए पनि, असक्त नै भए पनि बुबा हुनुहुन्छ, त्यस परिवारमा तुलनात्मक एकता र बलियो सम्बन्ध हुन्छ – आँट, आशा र भरोसको केन्द्र रहेको हुन्छ, कम्तीमा दैलो र कुल कुर्ने मानिस रहन्छ । सूर्यजस्तै, बुबाको ताप कहिले काँडाझैँ लागे पनि, तिनको अस्तित्व मेटिँदा गहिरो अन्धकार छाउँछ। यस्तो मियो जति लरखराए पनि, यदि लैङ्गिकता त्यसलाई समेट्न सक्दैन भने, त्यो दुर्भाग्य होइन त?
भन्छन्—बुबा–आमा जीवनमा दुईपटक आँसु झार्छन्: छोरीको बिदाइमा र छोराबाट हेलित हुँदा। मैले त देखेको छु—छोरीको बिदाइमा जति रुन्छन्, त्योभन्दा बढी छोरा छोरीले नजरअन्दाज गर्दा भित्रभित्रै बुबा भत्किन्छन्। तर यी अवस्थाहरूमा पनि बुबाको पीडालाई लैङ्गिक विमर्शले सम्बोधन गर्न नसक्नु चिन्ताको विषय होइन त?
आमा नौ महिनासम्म पेटमा सन्तान राख्छिन्, तर बुबा त जिन्दगीभर पाल्छन्। आमा बिना पारिश्रमिक घरको काम गर्छिन्—बुबा त आफ्नो सम्पूर्ण आय परिवारकै लागि खर्च गर्छन्। बच्चाको चोटमा आमा सम्झिन्छन्, तर जीवनको आवश्यकता परेमा बुबा सम्झिन्छन्। “आमाले मात्र नौ महिना पेटमा पाल्दछ, तर बुबा जिन्दगीभर बच्चालाई पाल्छ । आमा सोच्नु हुन्छ, आज मेरा बच्चाले कसरी खाना खान्छ, तर बुबा सधैं सोच्नु हुन्छ की मेरा बच्चाले जिन्दगिभर कसरी खाना खान्छ” । स्रोतः
. तैपनि, बुबा किन लैङ्गिकताको साँचो विमर्शमा ठाउँ पाउन सक्दैनन्?
युट्युबमा देखिएको एक सन्देशले मलाई छुयो—“आमा बच्चालाई कमरमा राख्छिन्, ताकि उसले आमाले देखे जति संसार देखोस्। तर बुबा काँधमा राख्छन्, ताकि बच्चाले बुबाले भन्दा टाढा देख्न सकोस्।” यसमा संकेत छ—बुबा मात्र अभिभावक होइनन्, सच्चा गुरु हुन्। गुरुले आफुले जानेको ज्ञान दिन्छ; तर बुबा–आमाले सन्तानलाई आफूभन्दा पर पुर्याउने सपना देख्छन्।
यदि यस्तो त्याग, समर्पण र भावनात्मक योगदानपछि पनि बुबा लैङ्गिक विमर्शको केन्द्रबाट ओझेलमा परिरहन्छन् भने, के त्यो न्याय हो?
निष्कर्षः
“पिता रोटी हैं, कपड़ा हैं, मकान हैं,
पिता नन्हें से परिंदे का बड़ा आसमान हैं।
पिता हैं तो घर में प्रतिफल राग है,
पिता से माँ की चूड़ी, बिंदी और सुहाग है।
पिता हैं तो बच्चों के सारे सपने हैं,
पिता हैं तो बाज़ार के सब खिलौने अपने हैं।”
— स्रोतः YouTube Shorts
हाम्रो सामाजिक संरचना महिला र पुरुष दुबैले मिलेर निर्माण गरेका छन्। यस्तो संरचनामा आधारित "लैङ्गिकता" यदि केवल एउटै पक्षतिर मात्र झुक्छ भने त्यसको औचित्य माथि प्रश्न उठाउनुपर्ने समय आएको छ। पक्कै पनि, केही परम्परागत अभ्यासमा महिलामाथिको विभेद स्पष्ट देखिन्छ, तर के पुरुषहरू त्यही संरचनाको अर्को छेउमा बाँधिएका छैनन् त? के तिनले पनि सामाजिक दबाब, मौन पीडा, र जिम्मेवारीको अनुशासनभित्र जीवन विताएका छैनन्?
कुशे औंसीका दिन बुबालाई सम्झिने औपचारिकता मात्रले ती संवेदनात्मक गहिराइलाई सम्बोधन गर्न सक्दैन, जुन वर्षभर मौन रहन्छ। झनझन प्रश्न उठ्छ—हामीले किन पश्चिमा उपनिवेशवादी दृष्टिकोणको जस्ताको तस्तै अनुसरण गर्नुपरेको छ? किन हाम्रो आफ्नै मूल्य र संरचनाभित्रका संवेदनाहरूलाई नजरअन्दाज गरिन्छ?
अब समय आएको छ, लैङ्गिकता सम्बन्धी बहसलाई पुनः सन्तुलित ढंगले पुनर्व्याख्या गर्ने। किनभने बुबाको प्रेम कहिल्यै चिच्याएर आउँदैन—तर त्यो मौन प्रेम, त्यो नबोलेको माया, सधैँ हाम्रो वरिपरि रहन्छ। तसर्थ, लैङ्गिकताको सवालमा बुबाको भावनाको पनि अनुमोदन अबको आवश्यकता हो । त्यो मौन भावनालाई बुझ्नु, अनि त्यो मौनतालाई लैङ्गिकतामा मान्यता दिनु नै बिऔपनिवेशिक प्रतिरोधको अबको आवश्यकता हो।